- दान बहादुर बुढा,
मुगु । जिल्लाको सदरमुकाम गमगढी बजारमा १६ जना क्षमताको महिला बन्दीगृह निर्माण भएको ६ वर्ष वितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । वि.सं. २०७० सालमा टेन्डर भई तीन करोड १० लाख रुपैयाँमा निर्माण सम्पन्न गरिएको महिला बन्दीगृह अझैं पनि सञ्चालनमा आउन नसकेको हो ।
आशिष कन्स्ट्रक्सन लिमिटेड कम्पनी, कैलालीले वि.सं. २०७२ सालबाट निमार्ण कार्य सुरु गरी वि.सं. २०७३ साल चैत्र ३० गते सम्पन्न गरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरेको थियो । भवन डिभिन कार्यालय, जुम्लाको आर्थिक सहयोगमा निर्माण गरिएको मुगुको उक्त महिला बन्दीगृह बनेको ६ वर्ष वितिसक्दा पनि प्रयोगमा नआउँदा दिनदिनै भत्किँदै गएको छ ।
भवनहरुको झ्याल, ढोका, शौचालय, सिँडीहरु भत्किन थालेका छन् । त्यस्तै भवनभित्र रहेका कोठाहरुमा पनि पानी पसेर बिग्रन थालेका छन् । साथै भवनको अगाडि–पछाडि पहिरोका कारण चर्किन थालेका छन् ।
विभिन्न घटनामा संलग्न ब्यक्तिलाई पूर्पक्षका लागि जिल्ला बाहिर लानुपर्ने बाध्यता रहेको छ । जसको कारण कैदीका आफन्तहरुले भेटघाट गर्न निकै समस्या भइरहेको बताइएको छ । नागरिक समाज मुगुका अध्क्ष्यय रुप बहादुर मल्लले जिल्लामा बनेको भवन कैदीहरुका लागि प्रयोग गर्न उपयुक्त नभएको बताए ।
त्यस्तै उनले भवन डिभिजन कार्यालय जुम्लाले भत्किएको भवनको मर्मत सम्भार गरी उक्त कारागार मुगुलाई हरुतान्तरण गर्नको लागि पहल भइरहेको जानकारी गराए । अहिले कारागारको कार्यालय जिल्ला प्रशासन कार्यालयभित्र बाट सञ्चालन भइरहेको छ ।
जिल्लाका १ सय १८ जना कैदीहरुलाई छिमेकी जिल्लाहरु जुम्ला, सुर्खेत, दैलेख, नेपालगन्जलगायतमा राख्ने गरिएको छ । एक जना कैदीलाई जिल्ला बाहिर राख्नका लागि राज्य कोषबाट ६० हजारदेखि १ लाखसम्म रकम खर्च हुने गरेको मुगु कारागारका प्रमुख धनराज कार्कीले बताए ।
कारागार भवनको घेरबार तथा अन्य समस्याको समाधान गरी केही दिनभित्र नै उक्त महिला कैदीगृहलाई मात्र भएपनि कारागार सञ्चालनमा ल्याउनले कोसिस भइरहेको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले बताए ।