काठमाडौं । श्रीलंकामा आर्थिक मन्दीका कारण स्थिति नाजुक बन्दै गएको छ, भने लाखौं मानिसहरु सडकमा प्रदर्शन गरिरहेका छन् । राष्ट्रपति निवासपछि प्रधानमन्त्री निवासमा पनि जनताको भीड लागेको छ । पछिल्लो समयमा श्रीलंकाको अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ । आर्थिक संकटको चरम विन्दुमा पुगेपछि राष्ट्रपति गोटाबाया राजपाक्षे देश नै छोडेपछि श्रीलंकामा आपतकाल लगाइएको छ ।
श्रीलंकाको कार्यवाहक राष्ट्रपतिमा रनिल विक्रमासिंघे नियुक्त
श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्स भागेपछि रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको रूपमा घोषणा गरिएको छ । श्रीलंकाको संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले यस्तो जानकारी दिएका हुन् । रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिको रूपमा घोषणा गरिएसँगै कोलम्बोमा हंगामा बढेको छ । जनताको आक्रोशलाई मध्यनजर गर्दै कोलम्बोमा कफ्र्यू लगाइएको छ ।
कार्यवाहक राष्ट्रपतिमा रनिल विक्रमासिंघेको नियुक्तिलाई लिएर प्रतिपक्षले प्रश्न उठाएको छ । श्रीलंकाका विपक्षी नेता सजिथ प्रेमदासाले भने, ‘राष्ट्रपतिले नियुक्ति गरेपछि, उनको पद रिक्त भएमा वा प्रधानन्यायाधीशले संसदका सभामुखसँगको परामर्शमा राष्ट्रपतिले काम गर्न नसक्ने देखेपछि मात्र प्रधानमन्त्री कार्यवाहक राष्ट्रपति बन्छन् ।’
उनले थपे, ‘यसो गरिएन भने प्रधानमन्त्रीले राष्ट्रपतिको शक्ति प्रयोग गर्न र कफ्र्यू घोषणा गर्न सक्दैन ।’
गोटाबाया राजापाक्षे श्रीमतीसहित माल्दिभ्स भागे
श्रीलंका आर्थिक संकटको आगोमा जलिरहेको अवस्थामा राष्ट्रपति गोटाबाया राजापाक्षे भने गोप्य रूपमा श्रीलंका छाडेका छन् । राष्ट्रपति गोताबाया राजापाक्षेले आज राजीनामा दिने घोषणा गरेका थिए ।
गोटाबाया राजापाक्षे सैन्य विमानबाट छिमेकी देश माल्दिभ्स गएका समाचारमा जनाइएको छ । अधिकारीहरूका अनुसार एन्टोनोभ–३२ विमानमा सवार चार यात्रुमध्ये ७३ वर्षीय नेता, उनकी श्रीमती र एक अंगरक्षक पनि थिए । तर, गोटाबाया गत शुक्रबारदेखि नै बेपत्ता थिए ।
सेना र प्रदर्शनकारीबीच झडप
श्रीलंकाको कयौं ठाउँमा सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । श्रीलंकाका जनताले दिनहुँ आर्थिक संकट झेलिरहेका छन् । त्यहाँको स्थिति यति धेरै बिग्रिएको छ कि कयौं ठाउँमा सेना र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।
राष्ट्रपतिका भाईलाई अधिकारीले देश छाड्न रोके
श्रीलंकाका अध्यागमन अधिकारीहरूले राष्ट्रपतिका भाई तथा पूर्व अर्थमन्त्री बसिल राजापाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएका छन् । तर, बसिल राजापाक्षे देश छाडेर कहाँ भाग्न खोजिरहेका थिए भन्ने खुल्न सकेको छैन । अचम्मको कुरा, जिम्मेवारी लिनुको सट्टा राजपाक्षे परिवार देश नै छोडेर भागिरहेका छन् ।
PM becomes acting President only if President appoints him, his office falls vacant, or CJ in consultation with Speaker forms view that President is unable to act. Without these, PM can’t exercise President’s power & can’t declare a curfew: Sri Lanka LoP Sajith Premadasa pic.twitter.com/7efCEoVnEZ
— ANI (@ANI) July 13, 2022