spot_img

भानु जयन्तीमा प्रसिद्ध साहित्यकार प्रश्रितसहितका व्यक्तित्व सम्मानित



  • युवराज आचार्य,

झापा । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्तीको अवसरमा झापाको मेचीनगरमा आदिकवि भानुभक्त आचार्यको पूर्णकदको शालिकमा माल्र्यार्पणसहित सम्मान कार्यक्रम सम्पन्न गरिएको छ ।

भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले काँकरभिट्टामा भव्य समारोहकाबीच यसवर्षको भानु साहित्यिक पुरस्कार प्रसिद्ध साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरेको छ । प्रश्रितलाई नगद एक लाख एक हजार रुपैयाँ र सम्मान पत्रसहितको पुरस्कार प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदान गरेका थिए ।

यसैगरी, प्रतिष्ठानले अग्रज पत्रकार जीएन शर्मालाई नगद २१ हजार रुपैयाँ राशीको पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यस्तै, जनही २१ हजार रुपैयाँ राशीको कृष्ण–पवित्रा प्रतिष्ठान सम्मान साहित्यकार भानुभक्त कुभिण्डेली र मात्रिकाप्रसाद संग्रौलालाई प्रदान गरिएको छ । त्यस्तै हेमराज–मेदनी पुरस्कार तथा सम्मान क्याप्टेन गोपीलाल लिम्बु र शशीप्रसाद बजगाईंलाई प्रदान गरिएको छ । पुरस्कारको राशी जनही २१ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमा पुर्याएको योगदान कसैले भुल्न नहुने बताए ।

मुख्यमन्त्री राईले पशु र मान्छेलाई छुट्याउने पहिलो कुरा नै भाषा रहेको बताए । पशुहरुले पनि बोल्छ भन्ने लाग्न सक्ला भन्दै मुख्यमन्त्री राईले पशुहरुले संकेत मात्र गर्ने बताए । भाषा र संकेतको बीचमा फरक रहेको भन्दै उनले मानिसले बोलेको टिप्ने र त्यो चाँहि अनुशरण मात्रै हुने उनको भनाइ थियो ।

मानिस र पशुलाई छुट्टयाउने एउटा महत्वपूर्ण कुरा भाषा रहेको र त्यो भाषाले नै देश जातलाई पनि एक बनाउने उनको विचार थियो । कुनै पनि समुदायको जात र नागरिकको देश हुन भाषा अनिवार्य हुने मुख्यमन्त्री राईले बताए ।

जातलाई राष्ट्र पनि भन्ने गरिएको राष्ट्रियता र जातका ५ वटा आधारभूत विशेषता मानिने तथा एउटा महत्वपूर्ण विशेषता भाषा नै भएको उनको भनाइ थियो । हरेक भाषाले हरेकलाई जोड्ने उनले बताए । यस्तो भाषामा आदिकवि भानुभक्तले निक्कै योग्दान गरेका कारण हरेक वर्ष असार २९ गते उनको स्मरण गर्ने गरिएको बताए । मुख्यमन्त्री राईले प्रश्रित एक कुशल राजनीतिज्ञ र बौद्धिक व्यक्तित्व रहेको चर्चासमेत गरे ।

कार्यक्रममा सम्मानित व्यक्तित्व प्रश्रितले हरेक नेपाली एक र हरेक जाति एक हुनुपर्ने धारणा राखे । जातकै आधारमा कोही पनि ठूलो सानो नहुने उनको भनाइ थियो ।

सोही अवसरमा साहित्यकार यज्ञराज प्रसार्इंको जीवनको अन्तराल निबन्ध संग्रह, भानुभक्त कुभिण्डेलीको महाकाव्य सच्चा सारथि र भानु साहित्यिक प्रतिष्ठानको कृतिहरु विमोचन गरिएको थियो । प्रसाईंको कृतिको साहित्यकार पुण्य खरेल र कुभिण्डेलीको कृतिको हरिनारायण भट्टराईले समिक्षा गरेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरेको सञ्चालन तथा उपाध्यक्ष मोहनप्रकाश उप्रेतीले स्वागत गरेको कार्यक्रममा राजन चिमरिया, केन्द्रप्रसाद भट्टराई र जय आचार्यले आ–आफ्नो प्रस्तुती दिएका थिए । भानु जयन्तीकै अवसरमा बुधबार विहान काँकरभिट्टामा प्रभातफेरि निकालिएको थियो ।

कार्यक्रममा सांसद श्रीप्रसाद मैनाली, मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रतिष्ठानका संरक्षक दुर्गाप्रसाद आचार्य, प्रज्ञा सभा सदस्य शुभदा भट्टराई, समाजसेवी मेदनीप्रसाद खरेल, कमल थापालगायतको आतिथ्यता रहेको थियो ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर