काठमाडौँ । आर्थिक रूपमा नेपाल श्रीलङ्काको बाटोमा हिँड्न थालेको भनेर टीकाटिप्पणी भइरहेका बेला आर्थिक र सामाजिक, अनुसन्धानमा सक्रिय विज्ञहरूले भने नेपालको अवस्था अहिले त्यस्तो आइनसकेको बताएका छन् । नेपालमा विदेशी मुद्राको सञ्चिति र ऋणको भार हेर्दा नेपाल कुनै पनि दृष्टिबाट श्रीलङ्काको आर्थिक दुर्गति बेहोर्ने अवस्थामा नरहेको उहाँको भनाइरहेको छ ।
पूर्वअर्थसचिव रामेश्वर खनाल र वरिष्ठ अधिवक्ता सविता भण्डारीले नेपालको अर्थतन्त्र प्रचार गरिए जस्तो जोखिममा नरहेको बताउनुभयो । राजनीतिशास्त्री एवं समाजशास्त्री हरि शर्माले अर्थतन्त्रको स्थायित्वका लागि सचेत बन्नुपर्नेमा जोड दिनुभयो ।पूर्वसचिव खनालले भन्नुभयो, “वैदेशिक ऋणको साँवा र ब्याज भुक्तानी गर्न अहिलेका निम्ति जति पनि तिर्नुपर्ने दायित्व छ, हाम्रो कुल सञ्चितिको ३ प्रतिशत मात्रै खर्च गरे पुग्छ । वर्षमा ४५ अर्ब तिर्नुपर्ने हो ।”
उहाँका अनुसार मुलुकमा सञ्चिति अहिले पनि ११ सय अर्बको छ । उहाँले राजस्वको लक्ष्य आगामी आर्थिक वर्षलाई १ हजार २४० अर्बको गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वैदेशिक ऋण तिर्न राजस्वको ठूलो हिस्सा यसका लागि प्रयोग गर्नुपर्दैन । त्यसैकारण हामी अन्तर्राष्ट्रिय ऋण तिर्न नसकेका कारणले टाट पल्टिने अवस्थामा छँदै छैनौँ ।” नेपाल वैदेशिक ऋणका सवालमा आगामी पाँच वर्षका लागि सुरक्षित रहेको पूर्वसचिव खनालको भनाइ छ । उहाँले भन्नुभयो, “हाम्रो विदेशी ऋणको कुल भार ९८० अर्ब बराबरको रकम हो । त्यो पनि हामीले सहुलियत कर्जा लिएको हुनाले खासमा हामीले तिर्नुपर्ने भएका ४८० अर्बभन्दा बढी तिर्नुपर्दैन ।” याे खबर गाेरखापत्र दैनिकमा छ ।