काठमाडौं । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै ‘माइती आँगन’को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार रिलिज गरिएको तीज गीत ‘माइती आँगन’मा हिन्दू नारीहरुको विशेष पर्वमा माइतीको महत्व र छमछम कम्मर मर्काएर नाच्ने कुरालाई प्रस्तुत गरिएको छ ।
भिडियोले तीजमा माइतीको आँगनमा नै पुगेर घनघन मादन नघन्केसम्म, छमछम ननाचेसम्म तीज नआउने कुरालाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ । प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको गीतमा मन्जु खनालका शब्द सिर्जना रहेका छन् ।
जसमा प्रदीप श्रेष्ठको एरेन्ज रहेको छ । किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिंग रहेको गीतको भिडियोको निर्देशन लन्डनका युवा निर्देशक कुशल श्रेष्ठले गरेका हुन् । आधुनिक शैलीका गीतमा बढी रमाएका निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल सञ्चारकर्मी हुन् । काव्या श्रेष्ठको सह निर्देशन रहेको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ ।
भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शीक्षा पौडेल, वीनिता थापा, वीनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरले अभिनय गरेका छन् ।
एभरेस्ट इन, नेपाल फुड्स र बिज एजुकेसनको निर्माण रहेको भिडियो इनफोकस नामक युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।