- अनमोल कार्की
रौतहट । रौतहटको चन्द्रपुरमा ७७ वर्षीय वृद्धलाई २३ वर्षीय युवाले कुटपिट गरेका छन् । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ निवासी वृद्ध रामगोपाल घिमिरेलाई वडा नम्बर ५ का अजय चौधरीले कुटपिट गरेका हुन् ।
पिडित घिमिरेका अनुसार शनिबार साँझ एक्कासी चौधरीले लठ्ठी तथा मुड्कीले अन्धाधुन्ध कुटपिट गरेका हुन् । कुटपिट पछि घाइते भएका घिमिरेलाई स्थानियले उद्धार गरेर चन्द्रपुर ४ मा रहेको सिभिल अस्पताल प्रा.लि.मा उपचारको लागि लगेका थिए । अस्पतालका अनुसार उनको ढाड, कम्मर , तिघ्रा, खुट्टा, हात तथा अनुहारमा देखिने गरी चोटपटक लागेको छ ।
कुटाइका कारण घिमिरेमा शरीरका विभिन्न भागहरुमा सुम्लासहितको निलडाम बसेको छ । उनलाई थप उपचार तथा परिक्षणको लागि सुविधासम्पन्न अस्पतालमा लैजाने अवस्था भएपनि आफुहरुसँग खर्चको अभाव भएकाले लान नसकिएको घिमिरेका आफन्तको भनाइ छ ।
चौधरीले आफूलाई पूरानो रिसइबी राखेर कुटपिट गरेको पीडितको भनाइ छ । पीडितका अनुसार पैनीमा पर्खाल बनाउने बेलाको पुरानो रिसीवीको कारण आक्रमण भएको छ ।
‘म वृद्धलाई उनीहरुले यसअघि पनि पटक पटक झम्टिने गरेका थिए’ उनको आरोप छ, ‘तर आज त घाइते हुनेगरीनै कुटपिट गरेँ । म बुढोले प्रतिकार पनि गर्न सकिन । ’ घिमिरेले चौधरीको नाममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका छन् ।
आक्रमण गर्ने चौधरीको खोजी कार्य जारी राखेको हाल उनी फरार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तुप्रसाद जैसवारले बताए । तर चौधरीलाई पक्राउ नगर्न र घटनालाई सामसुम पार्न प्रहरीलाई ठुलै राजनीतिक दबाव आइरहेको प्रहरी श्रोतले बताएको छ ।
नेपालको संविधानले मौलिक हक अन्तर्गत ज्येष्ठ नागरिकको हक राख्दै ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेकोमा एक वृद्धलाई खुलेयाम आक्रमण हुनु र आरोपित पक्राउ नपर्नु एकदमै दुःखद् कुरा भएको स्थानिय विष्णु उप्रेतीको भनाइ छ । उनले प्रहरीले कुनै पनि दवाव, प्रभावमा नपरिकन घटनाको निष्पक्ष छानविन गरि दोषीलाई कानुनी दायरामा ल्याएर जेष्ठ नागरिकको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने माग गरे ।