spot_img

प्रधानमन्त्री कप क्रिकेट : कोशीद्वारा मधेस प्रदेश पराजित



काठमाडौँ, ८ पुस : प्रधानमन्त्री कप राष्ट्रिय टि–टवान्टी महिला क्रिकेट प्रतियोगितामा कोशी प्रदेश मधेस प्रदेशलाई ६० रनले पराजित गर्दै विजयी भएको छ ।
जितका लागि एक सय ३० रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेश २० ओभरमा नौ विकेट गुमाउँदै ६९ रनमा समेटियो । मधेशका लागि साना प्रविनले ४१ बलमा तीन चौकासहित सर्वाधिक २७ रन बनाइन् । त्यस्तै आरती महतोले २० बलमा चार चौकासहित १८ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । ओपनर पुजा महतो तीन, एलिसा यादव चार, सरस्वतीकुमारी चौधरी सात, अनुराधा चौधरी र प्रतिमा शाहले समान दुई÷दुई रन बनाए ।
कोशीका लागि सबनम राइ र एलिसा खडियाले समान दुई विकेट लिए । रुविना क्षेत्री र संगिता राईले समान एक–एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला व्याटिङ रोजेको कोशी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाउदै एक सय २९ रनको योगफल बनाएको थियो ।
कोशीका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक ५७ रनको योगदान दिइन् । उनले ६४ बलमा नौ चौकाको मद्दतमा ५७ रनको योगदान गरेकी हुन् । त्यस्तै अप्सरी बेगमले ३९ रन बनाइन । उनले ४१ बलमा सात चौकाको मद्धतमा ३९ रन बनाएकी हुन् । सबनम राईले अविजित १६ रन जोडिन । उनले आठ बलमा दुई चौकाको सहायताले १६ रन जोडेकी हुन् । त्यसैगरी लकिता राजबंशीले छ तथा नमिता श्रेष्ठले अविजित दुई रन बनाइन ।
बलिङतर्फ मधेश प्रदेशकी मीना महतोले दुई विकेट लिइन् भने पुजा महतो र सरस्वती चौधरीले समान एक–एक विकेट लिए । यस जितसँगै कोशी प्रदेशले प्रतियोगितामा लागतार तेस्रो जित दर्ता गराएको छ । कोशीले पहिलो खेलमा कर्णालीलाई १० विकेटले र दोस्रो खेलमा बागमती प्रदेशलाई आठ विकेटले हराएको थियो । यता मधेशको भने यो लगातार तेस्रो हार हो । यसअघि मधेस प्रदेश बागमती प्रदेशसँग २८ र एपिएफसँग १० विकेटले पराजित भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर