वीरगंज, १२ जेठ । पर्सा जिल्लाका मुख्य राजनीतिक दलहरूले संयुक्त रूपमा गणतन्त्र दिवस मनाउने निर्णय गरेका छन् । आज नेपाली कांग्रेसको रानीघाट स्थित पार्टी कार्यालयमा नेका पर्साका कावा सभापति राम नारायण कुर्मीको अध्यक्षता बसेको सर्बदलीय बैठकले उक्त निर्णय गरेको हो ।
पर्साका प्रमुख राजनीतिक दलहरूको संयुक्त आयोजनामा जेष्ठ १५ गते गणतन्त्र दिवसको दिन साँझ ६.३० बजे माइस्थान मन्दिर अगाडि दिप प्रज्वलन गरेर गणतन्त्र दिवस मनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरि पन्तले बताए ।
पछिल्लो समय गणतन्त्रमाथी निरन्तर प्रहार भइरहेको सन्दर्भमा यसरी संयुक्तरूपमा कार्यक्रमको आयोजना हुँदा आम जनमानसमा गणतन्त्र प्रति ऐक्यबद्धता र सकारात्मक साथ झनै बढेर जाने सभापति पन्तले अपेक्षा राखे ।
समाजवादी पार्टीका जिल्ला सभापति बालगोपाल थापाले केही राजनीतिक दल र नेताहरूप्रति आमजनतामा बितृष्णा पैदा भए पनि समग्र गणतान्त्रिक ज्यवस्था प्रति आम नेपाली जनताको अगाध बिश्वास रहेको बताए ।
उक्त दिप प्रज्वलन कार्यक्रममा आम पर्सेली जनताको उपस्थित उल्लेख्य संख्यामा रहने नेकपा एमालेका पर्साका सचिव महेश दासले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्