- राम गोपाल तमखु,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले ११औं नगर सभाबाट आर्थिक वर्ष २०७९÷८० को लागि १ अर्ब ८२ करोड २३ लाख ६१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगर प्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको ११ औं नगर सभामा उप प्रमुख रमेश बुढाथोकीले उक्त बजेट प्रस्तुत गरेका थिए ।
आज प्रस्तुत बजेटको चालू खर्चतर्फ ४०.२ प्रतिशत र पुँजीगत खर्चतर्फ ५९.८ प्रतिशत विनियोजन गरिएको छ । प्रस्तुत बजेटमा सर्वाधिक बजेट सडक निर्माण र स्तर उन्नतिका लागि रु २२ करोड ४५ लाख छुट्याइएको छ । त्यस्तै आफ्नै भवन निर्माणका लागि २० करोड छुट्याइएको छ ।
निवर्तमान मेयर सोमप्रसाद मिश्रले शुरु गरेको मेयर उद्यमशीलता बिकास कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्दै १ करोड ६५ लाख बजेट छुट्याएको छ ।
यसका साथै नगरपालिकाले एक घर एक धारा अवधाराना साकार पार्न ६ करोड ८० लाख छुट्याएको छ । त्यस्तै कृषिमा १ करोड ९ लाख छुट्याएको छ भने विपद व्यवस्थापनका लागि १ करोड ५० लाख विनियोजन गरेको छ । यता सडक बत्तीको लागि समेत बजेट छुट्याइएको छ ।