spot_img

सङ्क्रान्ति पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै



पछिल्लो समय साउने सङ्क्रान्ति पर्वसँग जोडिएको तिउरी लगाउने परम्परा हराउँदै जान थालेको छ । बजारमा पाईने मेहेन्दीले तिउरी परम्परालाई विस्थापित गरेको हो ।

तिउरी एक प्रकारको वनस्पति हो । असार साउनमा फुल्ने फुल तथा सौन्दर्यताका लागि हातमा लगाइने र बगैँचामा सजावटका लागि लगाइने वनस्पतिको रुपमा तिउरीलाई लिइन्छ । साउने सङ्क्रान्तिको दिन बेलुका घरघरमा लुतो फाल्ने र हातभरि सौन्दर्यताका लागि तिउरी लगाउने परम्परा छ ।

तर, पछिल्लो समय आधुनिकीकरण तथा बढ्दो सहरीकरणले यस्ता परम्परा हराउँदै जान थालेका छन् । भीरकोट ५ की कृष्णकुमारी भन्नुहुन्छ, ‘हाम्रा पालामा साउने सङ्क्रान्तिमा दिनभरि तिउरी बटुल्ने र बेलुका तिउरीलाई कुटेर तिउरीको लेप हात तथा खुट्टामा लगाइन्थ्यो । आजभोलि तिउरी बारेमा जानकारी समेत छैन ।’ कृष्णकुमारीले थप्नुहुन्छ ।‘ परम्परागत रुपमा तिउरीको लेप हातमा लगाएर गाभा अर्था पातले छोपेर हात मुट्ठी पारेर सुत्थ्यौँ । ती दिन सम्झँदा रमाइलो लाग्छ । भोलि पल्ट कसको हातमा कत्तीको रातो बस्यो भनेर चर्चा गर्थ्यौँ ।’

वालिङ ५ की धनमाया गुरुङले तिउरी लगाउने चलन कम हुँदै गएको बताउनुहुन्छ । धनमायाले भन्नुभयो, ‘पहिला पहिला दाजुभाइ दिदीबहिनी सबै जम्मा भएर तिउरी लगाउने गरिन्थ्यो । यसले साउने सङ्क्रान्ति पर्वमा रौनकता थपिन्थ्यो । ग्रामीण भेगमा तिउरी लगाउने परम्परामा पहिलाको जस्तो रौनकता छैन ।’

बजारमा आउने रेडिमेट मेहेन्दीको प्रयोगले आजभोलिका नयाँ पुस्तालाई तिउरीको बारेमा त्यति जानकारी छैन । साउने सङ्क्रान्तिका दिन तिउरी छुनै पर्छ भन्ने मान्यता समेत छ । मेहेन्दी अन्य पर्व तथा विभिन्न कार्यक्रमहरूमा लगाइने भए पनि तिउरी भने वर्षको एक दिन साउने सङ्क्रान्तिमा मात्रै लगाइन्छ ।

हातलाई तिउरीले रङ्गाउँदा विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता रहिआएको छ । जेठ असार महिनामा धान रोपेर हिलो मैलो खेलेर हिलोले खाएका हातमा तिउरीको रस लगाउँदा हिलोले खाएर बनेको घाउलाई निको पार्न सहयोग गर्ने समेत जानकारहरू बताउँछन् । यसमा हुने एन्टिब्याक्टेरियलले विभिन्न छाला सम्बन्धी रोगबाट बचाउनुका साथै हातलाई सुन्दर बनाउन पनि मद्दत गर्ने वनस्पति विज्ञहरू बताउँछन् । तिउरीको रस लगाउँदा यसले हिलोले खाएर बनेको घाउलाई निको पार्ने भएकाले पनि साउनमा तिउरी लगाउने परम्परा विज्ञानसँग जोडिएको मानिन्छ ।

तर, आजभोलि लगाइने मेहेन्दीको भने प्राकृतिक एवं आयुर्वेदिक औषधिको महत्त्व भन्दा पनि फेसनको शृङ्गारमा रूपान्तरण भएको महसुस गर्न सकिन्छ । तिउरी फूलको बिरुवाको विभिन्न भागजस्तै पातबाट निकालिएको जुस छालासम्बन्धी रोग, पोलेको ठाउँ र सर्पको टोकाइमा प्रयोग गरिने वनस्पति विज्ञ बताउँछन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर