वीरगंज, २४ जेठ । वीरगंजको मुख्य सडक बिस्तारको विरूद्धमा सर्बाेच्चमा परेको मुद्दाको यही जेष्ठ ३१ गते चढ्ने १८औ पटकको पेशीमा मुख्य सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ गज नै बिस्तार हुने गरी फैसला आउने सम्भावना बलियो भएको छ ।
यसअघि केही दिनअगाडि सर्वाेच्च अदालतले हेटौंडाको त्रिभुवन राजपथ अन्तर्गत रहेको मुख्य सडक बिस्तारविरूद्ध परेको मुद्दामा सर्वाेच्चले मुख्य सडकको केन्द्र बिन्दुबाट २५–२५ गज दायाँ–बायाँ बिस्तार गर्ने फैसला सुनाएसंगै वीरगंजको मुख्य सडक पनि दायाँ–बायाँ २५–२५ गज बिस्तार हुने सम्भावना बढेर गएको हो । हेटौंडा र वीरगंजको मुख्य सडक त्रिभुवन राजपथ अन्तर्गत नै पर्ने भएको र मुद्दा पनि एकै प्रकृति भएकोले फैसला पनि सोही नजीरलाइ टेकेर आउने कानुनविदहरूले बताएका छन् ।
यस अघि १७ पटक पेशी चढ्दा पनि मुद्दाको किनारा नलाग्दा वीरगंजका बिकास प्रेमीहरू निरास हुँदै आएका थिए । मधेश प्रदेशको एक मात्र महानगर वीरगंज शहरको बीचैबीच चिरेर भारतको रक्सौल शहरको मुख्य हाइवेसंग प्रत्यक्ष जोडिएको त्रिभुवन राजमार्गको अतिक्रमित क्षेत्र सडक विभागले बिस्तार गर्न लाग्दा, त्यस विरूद्ध परेको सर्बाेच्चको मुद्दामा पटक–पटक पेसी चढदा पनि निकास नदिएर सर्बाेच्च अदालत बाधक बन्दै आएको थियो ।
देशका अधिकांश साना तथा ठूला सडकहरू बिस्तार भइसक्दा पनि भारतीय मुख्य हाइवेसंग प्रत्यक्ष जोडिएको त्रिभुवन राजपथले यतिका वर्षसम्म पनि निकाश नपाउनु आफैमा आश्चर्यजनक छ । यो राजमार्ग बिस्तार हुँदा वीरगंज फराकिलो भइ यहाँको विकाशमा कोसेढुङ्गा साबित हुने बिज्ञहरूको बुझाइ छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्