वीरगंज, २९ पुस । तमलोपाका पूर्वजिल्ला अध्यक्ष एवं तत्कालीन गोविन्दपुर गाविसका पूर्वअध्यक्ष योगेन्द्र प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।
उनलाई आज कन्ट्रीइन होटलमा आयोजित एक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले पार्टी प्रवेश गराएका हुन् । उनीसँगै वीरगंज–१५ का जेन्जी लिडर लालबाबु कुमार यादव पनि रास्वपा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति हरी पन्तले जिल्लामा रास्वपा प्रवेश गर्नेहरूको लहर नै चलेको बताए । उनले यसपालि सम्पूर्ण पर्सा जिल्लाबासी एक ढिक्का भएर बालेन सरकार बनाउन लागिपरेकोले यो चुनावमा रक्सी, मासु र पैसाको जोर नचल्ने बताए ।
कार्यक्रममा जिल्ला सचिव सुदिश प्रजापति, क्षेत्रीय सभापतिहरू मनोज कुर्मी, जीतेन्द्र मिश्रा, पोखरीयाका सभापति प्रदीप पटेल, संगठन विभागका प्रमोद रायमाझी र सोनालाल कुर्मी लगायतको सहभागीता थियो ।



