जनताको गुनासो र समस्याहरु तत्काल सम्बोधन गर्न सांसद पन्तको ध्यानाकर्षण
काठमाडौं, २६ साउन । प्रतिनिधिसभा सदस्य हरि पन्तले जनताको गुनासो र समस्याहरू तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पन्तले आफ्नो निर्वाचन क्षेत्र पर्सा क्षेत्र नं. १ मा पुगेर स्थानीयसँग भेटघाट तथा छलफल गर्दा जनताले तत्काल समाधान चाहेका विभिन्न समस्या र गुनासो आफूलाई सुनाएको बताए ।
जनताको मुख्य चासो तत्काल सहज रूपमा मलखाद उपलब्ध गराउने तथा जिल्ला प्रशासन, प्रहरी, नापी, मालपोत र यातायात कार्यालयबाट बिना लेनदेन र सिफारिस सहज रूपमा सेवा पाउने वातावरण निर्माण गर्नु रहेको बताए । नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी तथा इन्धनका लागि लामो समय लाइन बस्नुपर्ने अवस्थाको अन्त्य होस् भन्ने जनताको अपेक्षा रहेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
जनताको अपेक्षा र भरोसा अनुसार काम गर्नुपर्नेमा जोड दिँदै सरकारअन्तर्गतका सचिव, सहसचिव, उपसचिव, अधिकृत तथा जिल्लामा खटिने प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र कार्यालय प्रमुखलाई छुट्टै संसदीय समितिमार्फत अभिमुखीकरण तथा प्रशिक्षण दिएर जिम्मेवारीमा पठाउने व्यवस्था गर्न आग्रह गरे ।
पुरानो प्रशासनिक संरचना तत्काल परिवर्तन गर्न सम्भव नभए पनि नयाँ सरकारको भावना र जनताको जनादेशअनुसार काम गर्ने गरी कर्मचारीलाई जिम्मेवार र प्रशिक्षित बनाउन आवश्यक रहेको उनको भनाइ थियो । उनले विगत लामो समयदेखि जरा गाडेर बसेका भ्रष्टाचार, अनियमितता तथा बेथिति छोटो समयमै अन्त्य गर्न नसकिने भए पनि जनताले सरकारको कामबाट क्रमशः परिवर्तनको अनुभूति गर्नुपर्ने बताए।
प्रतिनिधिसभामा सांसद पन्तले राख्नुभएको मन्तव्यको पूर्णपाठः
सम्माननिय सभामुख महोदय ,
अघिल्लो पटक सदन स्थगित भएर सम्माननीयज्युले हामीलाई आफ्ना क्षेत्रका मतदाताहरूसंग भेटेर त्यहाँका समस्याहरू बुझ्न निर्देशन दिनुभए पश्चात म पनि आफ्नो निर्वाचनक्षेत्रमा गएर त्यहाँका स्थानीयहरूसँग निरन्तर भेटघाट अनि सम्बादमा थिए । स्थानीयहरूसंगको त्यो साक्षात्कारको क्रममा उहाँहरूले मलाई त्यहाँका समस्या अनि तिनका समाधानका उपाय, सुझाव र गुनासोहरूको एउटा ठूलो पोको नै दिएर पठाएका छन । जसको केही अंश म यस गरिमामय सदनमा राख्न गइरहेको छु ।
सभामुख महोदय,
त्यहाँ पछिल्लो समय धमिलो पानीमा माछा मार्ने प्रयास स्वरूप यो सरकारका विरूद्ध योजनाबद्ध रूपले आम जनमानसमा भ्रम र निराशा छर्न खोजिए पनि त्यहाँका स्थानीयहरूलले बिगत ३५ वर्ष अघिदेखि जरा गाडेर बसेका भ्रष्टाचार, अनिमियतता लगायतका आम बेथितिहरू ३५ हप्ता पनि नपुग्दै उखालेर फ्याक्न सकिने बिषय होइन भनेर राम्रो संग बुझेका रहेछन र त्यस्ता भ्रम छर्न खोज्नेहरूप्रति अत्यन्तै सजग पनि रहेछन ।
सभामुख महोदय,
जनताले अहिले तुरून्तै सरकारसंग धेरै ठुलो आशा पनि गरेका छैनन । अहिलेको जल्दो बल्दो समस्या भनेको तत्कालै त्यहाँका किसानहरूलाई सहजरूपमा मलखाद चाहिएको छ । त्यहाँका आमजनताले जिल्लामा अबस्थित जिल्ला प्रशासन, जिल्ला प्रहरी, नापी, मालपोत र यातायात कार्यालयहरूबाट आ–आफ्ना कामहरू बिना लेनदेन र बिना सिफारिस, सहज अनि प्रक्रियागत रूपमा होस भन्ने चाहेका छन ।
आम जनताले अघिल्ला सरकारहरूका पालामा जस्तै नागरिकता, लाइसेन्स, पार्सपोर्ट र इन्धनको लागि लिन लाइन बस्न नपरोस भन्ने आशा राखेका छन । आशा त्यसैसंग राखिन्छ, जो माथि आफ्नु भरोसा हुन्छ ।
त्यसैले त्यहाँका जनताको सरकारसंगको आशा र सरकारप्रतिको भरोसा अन्यन्तै जायज भएकाले आमजनताका ती चासोहरू तत्कालै सम्बोधन गर्न म सभामुखज्यु मार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउदछु ।
सभामुख महोदय,
आज म जेन्जी आन्दोलनको जगमा बनेको यो सरकार र सरकार प्रतिको नेपाली जनताको आशा, भरोसा र बिस्वास बिचको तारतम्य टुट्न नदिन एवं आफ्ना काम, कर्तव्य र जिम्मेवारीबोध गराउन हाम्रो पार्टीले हामी सांसदहरूलाई पटक पटक अभिमुखिकरण र प्रशिक्षण दिएको गहन बिषय सम्झिदै,
म सरकारलाई आग्रह गर्न चाहन्छु कि अब साँच्चै नै नेपाली जनतालाई सुशासनको प्रत्याभूति र परिवर्तनको अनुभुती दिलाउने हो भने अब उप्रान्त नेपाल सरकार अन्तरगतका सबै सचीव, सहसचिव, उपसचिव र अधिकृत लगायत प्रत्येक जिल्लामा जाने सिडियो, एसपि र कार्यालय प्रमुखहरू समेतलाइ एउटा छुट्टै संसदीय समिति बनाएर त्यसै समिति मार्पmत अभिमुखिकरण, तालिम र प्रशिक्षण दिएर मात्र सम्बन्धीत जिम्मेवारीमा पठाउन सम्माननिय सभामुखज्यु मार्पmत सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु ।
जनताले पुरानाले गरेनन या गर्न सकेनन भनेर हामी नयाँलाई चुनेर पठाएको सन्दर्भमा जनतासंग प्रत्यक्ष ठोक्किने ब्युरोक्रेटलाई तत्काल परिवर्तन गर्न असम्भब भएकोले उनिहरूलाई सरकारको स्प्रीट र जनताको म्यान्डेट बमोजिम काम गर्न र गराउन प्रशिक्षित एबम जिम्मेवार बनाउन अनिवार्य भएको बिषय म पुन दोहोर्याउन चाहन्छु ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?




