- दीपक खत्री,
सिन्धुपाल्चोक । हेलम्बुदेखि दोलालघाटसम्मको नदी करिडोर क्षेत्रमा तटबन्ध तथा पक्की तारजाली लगाइएको छ । गत वर्षको मेलम्चीमा आएको बाढीका कारण उच्च जोखिममा परेको सो क्षेत्रको सुरक्षाका लागि तारजाली निर्माण गरिएको हो । यसले सो क्षेत्रका स्थानीयलाई यसबाट बाढीबाट जोगिन सक्ने आशा पलाएको छ ।
अघिल्लो वर्ष असार १ गते भेमाथाङमा ठूलो बर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको थियो । सो बाढीको असरले हेलम्बुदेखि मेलम्चीसम्मको तटीय क्षेत्र बगर बनेको छ । चार हजार घरधुरीको बसोबास रहेको सिन्धुपाल्चोक मेलम्ची करिडोर क्षेत्र हिउँदमा खतरामुक्त रहेपनि बर्खामा भने नदी कटानका कारण सधै जोखिममा हुने गरेको छ । तर तटबन्ध निर्माण भएपछि भने स्थानीयलाई राहत महसुस भएको हो ।
सिन्धुपाल्चोकको मेलम्ची करिडोर क्षेत्रमा डेढ मिटर तार जाली प्रयोग गरी ५ मिटर अग्लो र ५५ मिटर लामो तटबन्ध निर्माण भएको हो । तटबन्धकै कारण ग्याल्थुमको मेलम्ची भ्याली क्याम्पस, तेर्से मावि र जाल्पादेवि माविको भवन तथा संरचना नदिको कटानबाट जोगिएका छन् ।
४ करोड लागतमा बागमती प्रदेश अन्तरगत भु तथा जलाधार ब्यवस्थापन कार्यालयबाट अस्थायी संरक्षणको लागि ३१ योजनामध्ये २९ योजना कार्यान्वयन आएको छ ।
मेलम्ची÷इन्द्रावती नदी एकीकृत संरक्षणका लागि बहुवर्षीय कार्यक्रमको रुपमा मेलम्चीमा कार्यालय रहने विषय बागमती प्रदेशको बजेटमा समेटिएको छ । तर, यसको प्रभावकारी कार्यान्वयनका लागि छुट्टै निकाय गठन गर्नुपर्ने आवश्यकता समेत महसुस गरिएको छ ।
हरेक वर्ष सो क्षेत्रमा बाढीको जोखिम उच्च रहने गरेको छ । यसले निजी देखि सार्वजनिक सम्पत्ति समेत जोखिममा पर्ने गरेकाले यसको न्यूनीकरणका लागि सरकारी तहबाट विशेष ध्यान दिन आवश्यक छ ।