काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनु पर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विद्येयक सम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले यस्तो बताएका हुन् । उनले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरुलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नती नहुने दाबी गरे ।
सांसद रिजालले नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भएपनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको बताए । उनले साढे पाँच वर्षदेखि नागरिकता ऐन आउला र नागरिकता पाउँला भने मानिसहरु पर्खिएर बसेको बताए । रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान नगर्ने बताए ।
उनले भने, ‘नेपालको संविधानमा हामीले सहमतिका साथ नागरिकताको महल राखौं । नागरिकताको महलमा संविधानमा लेखेको कुरालाई बदल्ने प्रयत्न अघिल्लो पटकको समितिको प्रतिवेदनबाट भयो । त्यो गलत थियो । त्यो गर्नु हुँदैन भनेर हामीले भनौं । गृहमन्त्रीले त्यसलाई प्रश्तुत गर्ने कार्यसूची तयार भएको थियो । त्यसबेलाका गृहमन्त्री आफू चुनाव लड्दाको पहिचान बदलियर अर्को पहिचानमा पुगेर गृहमन्त्रीबाट विदा भइसक्नुभयो । नेपालको नागरिकले नेपालको प्रमाणपत्र पाउन सक्ने दिन बन्न सकेन । अहिले विद्येयक आएको छ । सबै समस्या समाधान गदैन । तर ठीक हो । आउनु पर्ने थियो । ठिलो भएर आयो । नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ संविधानले लेखेको छ । तर लेखेर नागरिकता प्राप्त भएको छैन ।’
उनले थपे, ‘महोतरिका अर्जन शाहले नागरिकता पाएनन् । सुनसरीका विजय शाहले पाएनन् । एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने एउटा अनुहारका मानिसहरुलाई मदेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट कहिल्यै पनि देशको उन्नती हुँदैन । कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार छैन । यहाँ बस्ने सांसद हौला, जनताका प्रतिनिधि हौला तर नेपालमा जन्मेको नेपालमा नागरिकता पाउने अधिकार भएको कुनै पनि व्यक्तिलाई नागरिकताबाट बन्चित गर्ने अधिकार छैन । साढे पाँच वर्षदेखि मान्छेहरु पर्खिएर बसेको छ । सर्टिफिकेट, रोजगारी, विदेश जान पाएको छैन । त्यसलाई कतिदिनसम्म रोक्ने । यो गलत छ यसको अन्त्य हुनुपर्छ। यो नागरिकताको विद्येयकमा अन्य धेरै पक्षहरु पनि छन् । गैरआवासी नेपाली नागरिकताको पक्ष छ । त्यसमा सांस्कृतिक, आर्थिक । सामाजिक अधिकार भनिएको छ । आर्थिक अधिकार बारेमा अहिले पनि विभेद छ ।’
उनले फेरि भने, ‘एउटा सीमित जग्गा मात्रै खरिद गर्न पाउँछ । त्यसमा लेखेर मात्रै पुग्दैन । मान्य गृहमन्त्री ज्यू अहिले ऐन आउँछ । त्यसपछि नियमावली आउने बेला निर्देशिका बन्ने बेला नागरिकता लिन जाने मान्छेलाई अनुहार हेरर विभेद गर्न पाइदैन । त्यसको ग्यारेण्टी कसरी हुने हो । अहिलेको विद्येयक ध्यान पुग्न सकेको छैन । एउटा कुनै पनि विदेशीले नेपालको नागरिकता पाउँनु हुँदैन । एउटा कुनै पनि नागरिकले कुनै पनि नाममा नागरिकता रोकिनु हुन्न । यो प्रावाधान ल्याउन खोजेको हो ।’
सांसद रिजालले नेपाली नागरिकलाई नागरिकता लिनबाट बन्चित हुनु पर्ने अवस्थाको अब अन्त्य गर्नुपर्ने बताए ।