spot_img

एसपीपी पास नहुँदा प्रधामन्त्री देउवाको अमेरिका भ्रमण रद्द भयो : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपीपी) रद्द गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् । शुक्रबार काठमाडौंमा पार्टीको बागमती प्रदेश कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एसपीपी रद्ध गरेकै कारण प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् ।

उनले एमसीसीलाई व्याख्यात्मक घोषणा गरेरमात्रै पास गर्नु नै ठूलो कुरा भएको बताए । अध्यक्ष नेपालले व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्दासमेत अमेरिकीहरुको नेपाल भ्रमण बढेको र तिब्बती शरणार्थी शिविरमा पुगेर सरकारी गाडी अघिपछि लगाउने काम गरिरहेको बताए । उनले एमसीसी जस्ताको त्यस्तै पास गरेको खण्डमा देश तहसनहस हुने दाबी गरे ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणा गर्दासमेत छिमेकी देशलाई संवेदनशील बनाउने काम भइरहेको बताए । उनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नै एसपीपी नेपालमा आएको दाबी गरे ।

उनले भने, ‘हामीले एमसीसीलाई पनि यथास्थितिमा पास हुन दिएनौँ । व्याख्यात्मकसँग जोड्यौँ । इण्डोप्यासिफिकको अंग हुन्छ भने अस्वीकार गर्छौं भन्यौँ । यथास्थितिमा पास भएको भए नेपालको राजनीति थाहा छ ? व्याख्यात्मक टिप्पणी राख्दा अमेरिकीको लर्को लाग्न थालेको थियो, यहाँ आएर तिब्बती क्याम्पमा जान थाले । सरकारी गाडी अघि पछि घुमाउन थाले । नेपालको भूमिमा छिमेकी देशलाई संवेदनशील बनाएर काम हुन थाल्यो । एसपीपी केपी ओली प्रधानमन्त्री भएकै पालोमा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो, थाहा छैन ?’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनको मिति कुनैपनि समयमा घोषणा हुनसक्ने बताए । उनले अब चाँडै चुनावको मिति घोषणा हुने भएकोले चुनावको तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष नेपालले संसदको अधिवेशन सकिनेबित्तिकै निर्वाचनको मिति घोषणा गरिने भएकोले मंसिर भन्दा पछि जाने सम्भावना नरहेको उल्लेख गरे । उनले पार्टीका नेताहरुलाई जिल्लामा केन्द्रिकरण हुन आग्रह गरे ।

उनले भने, ‘जुन मंसिर महिनाको २ गते निर्वाचन भन्ने कुरा बाहिर आएको छ तर हामीले भनिसकेका छैनौँ । तर अनुमान के छ भने संसदको अधिवेशन सकिनेबित्तिकै ४ महिनाअघि चुनावको मिति घोषणा गर्नुपर्ने भएको हुनाले मंसिरभन्दा परजाने सम्भावना नभएको हुनाले चुनावको मिति कुनैपनि बेलामा घोषणा हुनसक्छ । त्यो तयारीमा अहिलेबाट नै जुट्नुस् । अब तुरुन्तै चुनावको मिति घोषणा हुनसक्ने भएकोले प्रत्येक जिल्लाजिल्लामा नेताहरुको केन्द्रिकरण होस् ।’

अध्यक्ष नेपालले अमेरिका नाटो र इण्डोप्यासिफिको संयन्त्रद्वारा रुस, चीन र उत्तर कोरियालाई सखाप पार्ने रणनीतिमा रहेको बताए । उनले चीन र रुसले पनि अमेरिकालाई जवाफ दिन आफ्नो सैन्य शक्ति बढाउने काम गरिरहेको र हातहतिया खरिद गर्ने र निर्माण गर्ने काम गरिरहेको भन्दै अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल रहेको बताए ।

उनले भने, ‘अहिलेको अन्तर्राष्ट्रिय परिस्थिति निकै जटिल छ । नाटोको बिस्तार भएको भएकै छ । रुसलाई घेराबन्दी गर्ने र नाटोमा नयाँ सदस्य थप्दै युक्रेनलाई नाटोको सदस्य बनाएर रुसलाई घेराबन्दी गरी समाप्त पार्नेगरी अमेरिका अघि बढिरहेको छ । इण्डोप्यासिफिक रणनीति अघि सारेर जापान र अष्ट्रेलियालाई साथमा लिएर भारतलाई पनि साथमा लिएर चीन र उत्तर कोरियालाई समाप्त पार्ने नीति लिएर अमेरिका अघि बढीरहेको छ । यतिबेला चीन र रुसले पनि जस्तालाई त्यस्तै जवाफ दिन्छु भनेर अघि बढेको छ ।’



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर