काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली तथा नेपाल एपीएफ क्लबकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बालाई खेलकुद पोशाक कम्पनी लिनिङले दुई वर्षका लागि ब्राण्ड एम्बास्डर बनाएको छ ।
काठमाडौंमा शुक्रबार लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रा.लि.ले राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एञ्जिलालाई ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरेको हो । एञ्जिला र लिनिङको आधिकारिक बिक्रेता चाइना ट्रेड कम्पनी प्रा.लि.का प्रमुख कार्यकारी राजेन महर्जनबीच एम्बास्डरका लागि शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार एञ्जिलाको जीवनीमा आधारित रहेर बन्न लागेको चलचित्र ‘एञ्जिला’मा उनले लिनिङ ब्राण्डको उत्पादन प्रयोग गर्नेछिन् । सम्झौताअनुसार ‘एटीएस अर्थात एञ्जिला तुम्बापो सुब्बा १८’ ब्राण्डको रुपमा लिनिङले सामग्री उत्पादन गर्नेछ ।
त्यसबाट आएको १० प्रतिशत एञ्जिलाले र बाँकी ५ प्रतिशत अन्य खेलाडीले पाउने लिनिङले जानकारी दियो । ब्राण्ड दुत बनेपछि एञ्जिलाले चर्चित ब्राण्डसँग जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन् ।