रामगोपाल तमखु
भक्तपुर । भोलि असार १५ गते दहि चिउरा खाने दिन । यसकै लागि भक्तपुरका जुजु धौँ ब्यवसायीहरु भ्याई नभ्याई छन् । अरुबेला दिनको करिब ४ सय लिटर जुजु धौँ बनाउने भक्तपुर लिवालीका सैजु दही भण्डारका रामदेवी सैजु अहिले व्यस्त छन् ।
सैजुका अनुसार असार १५ गतेका लागि १२ सय लिटरभन्दा बढी बनाउँदा पनि जुजु धौँले पुग्दैन । उनी भन्छन्, ‘अरु बेला थोरै बनाए पुगे पनि असार १५ गते १२ सय लिटरभन्दा बढी जुजु धौँ बनाउदा पनि पुग्दैन ।’
भक्तपुरको जुजु धौँ (दहिको राजा) नाम सुन्दै सबैले मुख रसाउने आदत नै बसेको छ । मीठो, रसिलो, स्वादिलो दुधको परिकार हो जुजु धौँ । बाक्लो राम्रोसँग पकाएको दुधबाट केमिकलरहित बनाइन्छ जुजु धौँ । विशेषगरी नेवाः समुदायमा कहिँ कतै जानु पर्यो भने, नयाँ काम शुरु गर्नु पर्यो भने, कुनै पनि काममा सफलता मिल्यो भने र शुभ कामको लागि सगुनस्वरुप जुजु धौँ दिने चलन छ ।
जुजु धौ सगुनको लागि नभई नहुने चिज पनि हो । जुजु धौँ सँगै स्वगँ (सगुन) भने पछि धौँ (दहि), खें (अण्डा), ङा (सुकेको माछा) र अयला (रक्सी) पनि नेवा सगुनमा चाहिन्छ । साथै, नेवाः समुदायमा कुनै पनि प्रकारको भोजमा भोज सकाउनको लागि दहि नभइ नहुने हुँदैन (विशेषगरी भक्तपुरमा) ।
भक्तपुरको जुजु धौँ विशेषगरी उपत्यकासँगै काभ्रे, नुवाकोट, धादिङलगायतका जिल्लाका नेवाः बस्तीमा लाने गरिन्छ । दहि अरुबेलाभन्दा चाँडवाडमा धेरै माग हुने गरेको ब्यवसायीहरु बताउछन् । नेपालीहरुले विशेषगरी दशैँ, बिस्का जात्रा, औंसी, असार १५ गतेलगायत विशेष दिनहरुमा दहि खाने चलन छ ।
कोरोनाका कारण यो वर्ष दहिको माग धेरै कम भएको भक्तपुरको सैजु दहि भण्डारका संचालक कृष्ण गोपाल सैजुले बताए । उनका अनुसार दहिको माग घटेपछि सधैँ उपत्यकाबाहिरबाट खपत हुने दुधलाई पाउडर दुध बनाउन चितवनमा पठाउने गरिएको छ ।
पहिला उपत्यकाबाट आउने दुधले नपुगेकोले उपत्यका बाहिरबाट ल्याउने गरेको पनि उनको भनाइ छ । उनी भन्छन्, ‘किसानबाट नियमित ल्याइने दुधलाई घाटा खाएर भए पनि पाउडर दुध बनाउन कम्पनीमा पठाइरहेको छु । उपत्यकाबाट आउने दुधलाई भने पनिर, खुवालगायतका मिठाइका परिकार पनि बनाएर दुधलाई ब्यवस्थित गरिराखेका छौँ ।’
मुख्य बजारको रुपमा रहेको पार्टी प्यालेसहरु बन्द भएपछि जुजु धौँको व्यापार कम भएको छ । साथै, कोरोना महामारीले नराम्रोसँग खस्केको बजार पनि राम्रोसँग नखोलिएका कारणले ब्यापारमा आक्रमकता नभएको उनको भनाइ छ ।