spot_img

एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई अध्यक्ष ओलीको चुनौती



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एसपीपी सम्झौताको नयाँ ड्राफ्ट जनतालाई देखाउन सरकारलाई चुनौती दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित जननेता मदन भण्डारीको ७१ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एसपीपीको सक्कली नयाँ ड्राफ्ट सार्वजनिक गर्न सरकारलाई चुनौती दिएका हुन् ।

अध्यक्ष ओलीले सरकारले नयाँ ड्राफ्ट ल्याएको र जनताले ठूलो दबाब दिएपछि केही समयका लागि मात्रै स्थगित गरेको आरोप लगाए । उनले जन दाबाबको भेललाई शान्त पार्न स्थगित गरेको भनेपनि दबाब क्रमशः घट्दै गएपछि पुनः एसपीपी सम्झौतामा लाग्ने बताए ।

अध्यक्ष ओलीले नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै आफूले बचाएको गफ दिएर राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा ढाँट्ने काम गरिरहेको बताए । उनले अध्यक्ष दाहालले केपी ओलीको कार्यकालमा एसपीपी ल्याएको भन्ने कुरा फट्याँइ बाहेक अरु नभएको बताए । अध्यक्ष ओलीले गल्ती भए स्वीकार्न मिल्ने तर झुटो बोल्दै नहिँड्न अध्यक्ष दाहाललाई चेतावनी दिए ।

उनले राष्ट्रियता तमासा देखाउने र नखरा गर्ने चिज नभएको बताए । अध्यक्ष ओलीले नेकपा माओवादीले सभामुख पदमा एमसीसी साटेको आरोप लगाए । उनले गलत छ भनेर जनतालाई उचाल्ने र सदनबाट पास गर्ने काम माओवादीले गरेको बताए । अध्यक्ष ओलीले अध्यक्ष दाहालले गर्नु हुने र नहुने सबैकाम सरकारमा रहेर गरिरहेको बताए ।

उनले आफू प्रधानमन्त्री हुँदा र आफूलाई जानकारी गराएर कुनै एसपीपी सम्झौतामा हस्ताक्षर नगरेको भन्दै यदी हस्ताक्षर गरेको पाए देखाउन चुनौती दिए । उनले तत्कालीन प्रधानमन्त्री एवं रक्षामन्त्री सुशील कोइरालाको पालामा पहिलोपटक एसपीपीको सदस्य हुन पत्र लेखेको र दोस्रो पटक २०७४ सालमा पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा पत्र लेखेको बताए ।

अध्यक्ष ओलीले निर्वाचन आयोगकी निर्वाचन आयुक्त ईश्वरी पौडेलले गठबन्धन र काँग्रेसी पल्टिएर केपी ओलीले एसपीपीमा अस्ताक्षर गरेको भन्ने अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै आरोप प्रमाणित गर्न चेतावनी दिए । अध्यक्ष ओलीले अमेरिकी एम्बेसीले आफू प्रधानमन्त्री हुनुपूर्व नै पत्र पठाइएको भन्ने सत्यता बोल्न आग्रह गरे । उनले टिपेस लगाएर र हातले नखेलेको वास्तविक पत्र जनतालाई देखाउन पनि सरकारलाई चुनौती दिए ।
अध्यक्ष ओलीले भने, ‘एकजना नेताले पटक–पटक भनिरहेका छन्, केपी ओलीको समयमा एसपीपी ल्याएको थियो । अन्तर्राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन् । राष्ट्रिय रुपमा पनि ढाँटिरहेका छन् । केपी ओलीको समयमा ल्याएको थियो, अहिले मैले भुमिका खेलेर मैले रोकेँ । यो भन्दा बढ्ता ढाँट कुरो, यो भन्दा बढ्ता फट्याँइ के हुन्छ ? वास्तवमा गल्ती भयो भने गल्ती भयो भन्दा भइहाल्छ नि । गल्ती हुनसक्छ, त्यो स्वीकार्न पाइन्छ । राष्ट्रियता भन्ने कुरा तमासा, हाउभाउ गर्ने चिज होइन । नखरा, अभिनय गर्ने, झुक्याउने, धोका दिने चिज होइन ।’

उनले थपे, ‘राष्ट्रियता भनेको आफ्नो देश, भूगोल, राष्ट्र, राष्ट्रियता, जनता, सभ्यता, संस्कृति, समाज, आफ्नो भुगोलदेखि समाजसम्म सबै पक्षको समग्र हतिमा तलमाथि पर्न नपाओस्, त्यसको अस्तित्वको रक्षा हुनुपर्छ भन्ने कुरा हो । ‘एमसीसी शेरबहादुर देउवा र पुष्पकमल दाहाल भएर सम्झौता गर्नुभयो । उहाँहरुले नै पास गर्नुभयो । अरुको बारेमा त चर्चा गर्नै परेन नि, स्पष्ट छ । बीचमा यस्तो वातावरण बनाउनु भयो, हल्लाखल्ला, सडक भत्काउन किन परेको थियो, किन बाटोमा हिँड्नेलाई ढुंगा हान्नुपरेको थियो । सबैभन्दा बढी त माओवादीले गरेको छ नि त्यो कुरा ।’

उनले फेरि भने, ‘प्रचण्डको निर्देशनमा गरे नि । सेप्टेम्बर २९ मा एमसीसीलाई पत्र लेख्ने देउवा र प्रचण्डले ४÷५ महिनाको समय देउ सरकारी खर्चमा सबैलाई लट्पट्याएर पास गराउँछौं, त्यहीँ छ त लेखेको त । ५ महिनामा उहाँहरुले भनेजस्तो भएन होला लाचार भएर, लाचार देखिएर पास गर्नुभयो । जनतालाई धोका दिएर पास गर्नुभयो । सबैभन्दा बढी उफ्रिने त माओवादी थियो । सभामुखकै पद जाने अवस्था भइसक्यो अनि के गर्ने त एमसीसी पास गर्नुपर्ने भयो भन्नुभयो, राष्ट्रहीत विपरित् छ, यो देशद्रोही कुरा हो, कुनै हालतमा हुन सक्दैन । धुलो उड्छ, के उड्छ भन्नुभयो, अनि के यो सभामुखको पदसँग साट्ने कुरा हो । यस्ता कुराको सहारा लिने हो यस्तो तर्कमा ? उहाँहरुले भन्नुपर्छ नि, यो राष्ट्रहीतको पक्षमा छ त्यसकारण पास गरेँ । वा राष्ट्रहीतको पक्षमा छैन र पनि पास गरेँ, मलाई देशको मतलव छैन ? सभामुख जोगाउनु छ । उहाँहरुले त त्यही भन्नुभयो अन्तिममा ।’

उनले थप भने, ‘राष्ट्रहीतको मतलव छैन, सभामुख जोगाउनु छ । अहिले भन्दै हुनुहुन्छ, कति बुद्धिमतापूर्ण, कत्रो बुद्धि हाम्रो । दुनियाँलाई उफारियो, देशभक्तका नारा दिइयो, सडकमा लडाइयो । अन्तिममा आएर पास गराइयो । अहिले एसपीपीमा त्यस्तै कुरा गरिरहनुभएको छ । एसपीपी, म प्रचण्डजीलाई, उहाँ सरकारमा हुनुहुन्छ । गर्न नहुने, गर्न हुने सबैकाम गर्दै हुनुहुन्छ । म उहाँहरुलाई भन्न चाहन्छु, एसपीपी दुई वटा कुरा हो । एउटा अहिले जुन ड्राफ्ट बाहिर आयो, जो बहुत खतरनाक छ । त्यो ड्राफ्ट अहिले नयाँ ड्राफ्ट हो, यो पहिला आएको थिएन र यस्तो ड्राफ्टमाथि कुनै विचार विमर्श भएको थिएन । यस्तो ड्राफ्टको सम्बन्धमा कसैले पत्र लेखेको थिएन । यो नयाँ ड्राफ्ट हो । यो घातक छ । ठीक छ पास गर्छौं भन्दै हुनुहुन्थ्यो, जनताले दरो दबाब दिएपछि पछि सरेर ठीक छ पास गर्दैनौँ भन्नुभयो । अनि भन्नुहुन्छ, हामीले गरेर, हामी सरकारमा थियौँ र । अनि यो ड्राफ्ट कसले दियो त, हामीले दिएको हो र ? २०७२ साल असोज ६ गते तत्कालीन रक्षा तथा प्रधानमन्त्री सुशील कोइरालाले मन्त्रीस्तरीय निर्णय गरेर एसपीपीको अंग बन्न तयार छ भन्ने निर्णय गर्नुभयो । असोज १३ गते नेपाली सेनालाई रक्षा मन्त्रालयले पत्र लेख्यो, यस सम्बन्धमा पत्राचार गर्नु भनेर ।’

 



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर